पात्रो

रेडियो

समाचार खोजी

बिपी राजमार्गको स्थायी पुनर्निर्माण तीव्र

साझा अर्थ संवाददाता ४ माघ २०८२, आइतवार

काभ्रेपलाञ्चोकः पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको दुई महिनाअघि स्थायी रूपमा निर्माण सुरु गरिएको थियो । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माणकार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त सडकखण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ । कार्यालयका अनुसार क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणका लागि हाल तीन खण्डमा काम सुरु गरिएको छ । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बाढीले बिपी राजमार्गको पुनर्निर्माणका लागि तीन निर्माण व्यवसायी कम्पनी कार्यक्षेत्रमा खटेर तीव्र रूपमा काम गरेको बताउनुभयो । उहाँका अनुसार जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले भने पुनर्निर्माण गर्ने भनिएको एक खण्डको काम सुरु हुनसकेको छैन । 

“जाइकाले थप अध्ययन गरिरहेको छ, केही समयमै उसले पनि काम सुरु गर्ने जनाएको छ”, योगेशले भन्नुभयो । उहाँले गत वर्षको बाढीले क्षति पुर्याएको विभिन्न स्थानमा ‘आरसिसी’ पर्खाल लगाउने काम भइरहेको छभने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा पनि ‘आरसिसी’ पर्खाल लगाउन सुरु गरिएको जानकारी दिनुभयो । यस्तै डालावेँसी, मङ्गलटार खण्ड, चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत भइरहेको उहाँले बताउनुभयो ।

गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ । यस्तै आगामी वैशाखसम्म बाढीले क्षति पुर्याएको स्थानमा संरचना निर्माण गरिसक्ने जसबाट अब आउने वर्षायाममा खोलाको किनारबाट यातायात सञ्चालन गर्न नपर्नेगरी साविककै स्थानबाट यातायात सञ्चालन लक्ष्य लिइएको जनाइएको छ । 

यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतका काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाइ कालोपत्र गरी कामलाई तीव्रता दिइएको योगेशले बताउनुभयो । बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । बाढीपहिराले सडकको विभिन्न खण्ड बगाएपछि गत सालदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रूपमा निर्माण सुरु गरिएको कार्यालयले जनाएको हो । 

अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ । “पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्ने छ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई पनि दुई लेनको निर्माण गरिनेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार पाँचवटा पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ । 

96 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु