काठमाडौं, पुस ७ गते। सिद्धार्थ राजमार्गको जोखिमी सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङ मार्गको कार्य ६५ प्रतिशत सम्पन्न भएको छ। आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आइतबार आयोजना क्षेत्रको निरीक्षण गरी निर्माण कार्य तीव्रता दिई तोकिएको समयमै सम्पन्न गर्न आग्रह गरे। उहाँले आयोजना, परामर्शदाता र निर्माणकर्ता बीचका बाँकी विषय तत्काल निर्णय गर्न निर्देशन दिए।
चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ठेक्का गरिएको यस आयोजनाको चैत २०८३ भित्र निर्माण सकिने छ। सुरुङ निर्माण भएपछि पहिरो र ढुङ्गा खस्ने जोखिमबाट मुक्त भई यातायात सुरक्षित, छिटो र कम खर्चिलो हुने अपेक्षा छ। सिद्धबाबा क्षेत्र वर्षेनी दुर्घटना र लामो ट्राफिक अवरोधको कारण बन्दै आएको छ।