दोलखाः भीमेश्वर नगरपालिका वडा नम्बर दुईको वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । १ करोड २३ लाखमा सो भवन निर्माण सम्पन्न भएको हो ।
प्राचिन ऐतिहासिक तथा पुरातात्विक नगरी दोलखाको कोर्छें टोलमा निर्माण सम्पन्न भएको सो भवन निर्माणमा कुल १ करोड २३ लाख २९ हजार ६१७ रुपैयाँ खर्च भएको वडा नम्बर दुईका वडा अध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिनुभयो । सो भवनको केही काम ठेक्का मार्फत तथा केही काम उपभोक्ता समिति मार्फत सम्पन्न भएको वडाध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
सो भवन निर्माण गरिएको स्थानमा पञ्चायत कालमा दोलखा गाउँ पञ्चायत हुँदा गाउँ पञ्चायत भवन रहेको थियो । स्थानीय तहको निवाचन भएको पहिलो कार्यकालमा वडा कार्यालय भवन निर्माण हुन नसकेपनि दोस्रो कार्यकालमा भने भवन निर्माण भएकोमा स्थानीयहरुले खुशि ब्यक्त गरेका छन् ।
नव निर्मित भवन भुइँतला सहित तीन तल्लाको रहेको छ । भवनमा विभन्न शाखाका साथै वडाध्यक्षको कार्य कक्ष, वडा सदस्यहरुको कार्यकक्ष एवं बैठक कक्ष समेत रहेको वडा कार्यालयले जनाएको छ ।
नव निर्मित भवनको उद्घाटन विहिवार भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले एक समारोहका विच गर्नु भयो । भवन उद्घाटन अघि स्थानीय परमपरा अनुसार पूजाआजा गरिएको थियो । भवन उद्घाटन समारोहमा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी, वडा नम्बर तीनका वडा अध्यक्ष हरिशरण शिवाकोटी, वडा नम्बर ६ का वडाध्यक्ष नविन लामा, राजनैतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । पुरातात्वीक शैलीमा प्राचिन सम्पदा वस्तीमा निर्माण सम्पन्न सुविधायुक्त वडा कार्यालय भवनसँगै वडाले दिने सेवाको गुणस्तरमा समेत बृद्धी हुने स्थानीयहरुको अपेक्षा रहेको छ ।
