पात्रो

रेडियो

समाचार खोजी

एकसय एघारौं नन्दप्रसाद जन्म जयन्ती सम्पन्न

साझा अर्थ संवाददाता ४ भदौ २०८२, बुधवार

काठमाडौंः सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्व नन्दप्रसाद शिवाकोटीको १११ औँ जन्मजयन्ती राजधानी काठमाडौंमा विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ । कार्यक्रम बुधवार सम्पन्न भएको हो । 
राजधानीमा आयोजित विशेष समारोह स्मारिक विमोचन तथा नन्दप्रसाद जानुका स्मृति सम्मान हस्तान्तरण कार्यक्रमकासाथ सम्पन्न भएको आयोजक संस्था नन्दप्रसाद जानुका फाउन्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो । नेपाली काँग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथि थापा र नन्दप्रसाद जानुका फाउन्डेशनका अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले संयुक्त रुपमा शिक्षा विद मिलनराज तुलाधरलाई सम्मानपत्र र नगद २५ हजार रुपैयाँबाट नन्दप्रसाद जानुका स्मृति पुरस्कारबाट सम्मान गर्नु भएको थियो । 

पुरस्कृत ब्यक्तित्व तुलाधरले नन्दप्रसादले विद्यालय क्षमावती मावि खोल्नका लागि अहम् त्याग गरेको स्मरण गर्दै नन्दप्रसादमा शैक्षिक र राजनीतिक दुवै दक्षता भए पनि कहिल्यै एकअर्कामा जोडिन नदिएकै कारण आज समाजले नन्दप्रसादलाई सम्झिरहेको बताउनु भयो । शिक्षण क्षेत्रमा जाँदा विद्यालय पवित्र मन्दिर भएकाले त्यहाँभित्र प्रवेश गर्दा राजनीतिक जुत्ता बाहिरै फुकालेर जानुपर्ने उहाँको भनाई रहेको थियो । तुलाधर क्षमावती माविका पूर्व प्रधान अध्यापक समेत हुनु हुन्छ । 
कार्यक्रममा गत वर्ष भएको फाउन्डेशनको पहिलो कार्यक्रममा भएको कार्यक्रमका वक्ता, अग्रजले पठाएका लेख र अन्य लेख थपेर तयार पारिएको नन्दप्रसादमा समर्पित स्मारिका समेत विमोचन गरिएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रजातन्त्र सेनानी नन्दप्रसाद शिवाकोटी जस्ता व्यक्तित्वका बारेमा  पुस्तकहरु प्रकाशित गरी योगदानको सम्मान गर्नुपर्नेमा जोड दिनु भएको थियो ।  सम्मानित व्यक्तित्व तुलाधरले भनेजस्तै शिक्षकले विद्यालयमा प्रवेश गर्नासाथ राजनीतिक आस्थालाई विद्यालयको गेटभन्दा बाहिर नै राख्नुपर्नेमा थापको जोड थियो । हिजो पार्टीमा सत्कर्म गर्ने मानिसहरु नभएको भए कांग्रेस अहिले टिक्दै नटिक्ने उहाँको दावी थियो । 
कार्यक्रममा गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले कांग्रेसले नन्दप्रसादहरूलाई बिर्सन नहुनेमा जोड दिनुभयो । नन्दप्रसाद र उहाँजस्तै मानिसका कारण  शैक्षिक समाज स्थापित भएको बताउनु भयो । 
कांग्रेस केन्द्रीय सदस्य एवं सांसद प्रतिमा गौतमले कांग्रेसका खम्बा नन्दप्रसाद शिवाकोटीलाई उत्खनन् गरेजस्तै उनी जस्ता गुमनाम सयौँ व्यक्तित्वलाई खोज्न फाउन्डेशनलाई सुझाव दिइन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नानु बास्तोला शिवाकोटीले समाज परिवर्तन शिक्षाबाट मात्र सम्भव छ भन्ने नन्दप्रसादको नीति नै सबैभन्दा अब्बल योगदान भएको बताउनु भयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ शेर्पाले नन्दप्रसाद शिवाकोटीले दिएको योगदानको प्रशंसा गर्दै नन्दप्रसादले दिएको योगदानबारे पार्टीले लेखेको छ कि छैन त्यो अफूलाई थाहा नभएको तर उहाँको योगदानको उच्च प्रशंसा गर्नु पर्ने बताउनु भयो । यस्तै नेपाली कांग्रेस दोलखा जिल्ला सभापति बर्मा लामाले समाजमा योगदान दिनेहरुको सम्झना सधै रहने बताउनु भयो ।
कार्यक्रमका अन्य बक्ताहरुले नन्दप्रसाद शिवाकोटीको ब्यक्तित्व बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम नन्दप्रसाद जानुका फाउन्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीको सभापतित्वमा सम्पन्न भएको थियो ।

616 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
67%
मन पर्‍यो
0%
मन परेन
33%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ