काठमाडौं, ४ साउन २०८३ । यातायातसम्बन्धी काम लिएर कार्यालय जाने तयारीमा हुनुहुन्छ भने केही दिन पर्खनुपर्ने भएको छ। यातायात व्यवस्था विभागले डाटाबेस स्थानान्तरण र नयाँ करका दर प्रणालीमा समायोजन गर्ने काम भइरहेकाले अत्यावश्यकबाहेकका सेवाका लागि साउन ८ गतेपछि मात्र कार्यालय जान आग्रह गरेको छ।
विभागका अनुसार यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न डिजिटल प्रणालीको डाटाबेस माइग्रेसन भइरहेको छ। त्यससँगै प्रदेश सरकारहरूले नयाँ आर्थिक वर्षका लागि तोकेका करका दररेट प्रणालीमा प्रविष्टि र मिलान गर्ने काम पनि भइरहेको छ।
यी प्राविधिक काम पूरा गर्न करिब एक साता लाग्ने विभागले जनाएको छ। यस अवधिमा यातायात कार्यालयबाट प्रवाह हुने केही नियमित सेवा प्रभावित हुन सक्नेछन्।
विभागले अत्यावश्यक काम परेमा मात्र सम्बन्धित कार्यालयमा सम्पर्क गर्न र अन्य सेवाका लागि साउन ८ गतेपछि जान सेवाग्राहीलाई अनुरोध गरेको छ।
प्राविधिक कामका कारण सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति विभागले क्षमायाचना गरेको छ।