नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन तयार गरिएको अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयबाट नेपाल धितोपत्र बोर्डमा पठाइएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रिपरिषद्बाट आएको निर्णय र प्रतिवेदन हुबहु बोर्डमा पठाइएको छ । ९ माघ ०८० मा मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीको संयोजकत्वमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने वा नदिने विषयमा अध्ययन गर्न समिति गठन गरेको थियो । समितिले प्रारम्भिक चरणमा कसिला मापदण्ड राखेर लाइसेन्स दिनुपर्ने सुझाव दिए पनि अन्तिम चरणको प्रतिवेदनमा ती कसिला मापदण्ड हटाएर प्रधानमन्त्री कार्यालयलाई बुझाइएको थियो । गत वैशाखमै बुझाइएको यो प्रतिवेदन लामो समयदेखि प्रधानमन्त्री कार्यालयमा रोकेर राखिएको थियो ।
गत १० मंसिरमा सन्तोषनारायण श्रेष्ठलाई बोर्ड अध्यक्ष नियुक्त गरेको करिब एक महिनामै मन्त्रिपरिषद्ले नौ महिना रोकेर राखेको शिवाकोटीको अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो । अर्थ मन्त्रालयले बोर्ड प्रतिवेदन पठाएपछि अब नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रियाले निरन्तरता पाउने सम्भावना बढेर गएको छ ।
साझा अर्थ संवाददाता