काठमाडौं। नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल कम्पनीको सञ्चालक समिति सदस्यमा पुनर्बहाली भएकी छन्।
नेपाल टेलिकमले कम्पनी रजिस्ट्रारको कार्यालयलाई पठाएको आधिकारिक पत्रअनुसार मन्त्रीस्तरीय निर्णयबाट अर्यालको निलम्बन फुकुवा गरी उनलाई पुनर्बहाली गरिएको हो।
कम्पनीको नियमावलीमा प्रबन्ध निर्देशक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ। सोही व्यवस्थाअनुसार अर्याल पुनः सञ्चालक समिति सदस्य बनेकी हुन्।
यसअघि सञ्चालक समिति सदस्य रहेकी रिना डंगोलको स्थानमा अर्याल पुनर्बहाली भएको पत्रमा उल्लेख छ। नेपाल टेलिकमले सञ्चालक समिति सदस्यमा भएको परिवर्तनबारे कम्पनी ऐन, २०६३ को दफा १२१(३) अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयलाई जानकारी गराएको हो।