काठमाडाै १२ साउनः नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि खुला प्रतिस्पर्धामार्फत पदपूर्तिको प्रक्रिया सुरु भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट १५ दिनभित्र आवेदन माग गरेको हो। आवेदन सिंहदरबारस्थित वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा दर्ता गर्नुपर्नेछ।
सीईओ छनोटका लागि मन्त्रालयले छनोट तथा सिफारिस समिति गठन गरिसकेको छ। उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्य, वित्त, व्यवस्थापन, सूचना प्रविधि वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि वा चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको योग्यता हासिल गरेको हुनुपर्नेछ। साथै पूँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनमा कम्तीमा १५ वर्षको अनुभव, जसमध्ये सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।
आवेदकको उमेर आवेदन दिने अन्तिम मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबारलगायत गम्भीर फौजदारी कसुरमा सजाय पाएका, कालोसूचीमा रहेका, विदेशी स्थायी आवासीय अनुमति (पीआर, डीभी वा ग्रिन कार्ड) लिएका तथा अन्य कानुनी रूपमा अयोग्य ठहरिएका व्यक्तिले आवेदन दिन पाउने छैनन्।
उम्मेदवारले आवेदनसँगै नेप्सेको भविष्यको विकाससम्बन्धी तीन प्रति खामबन्दी व्यावसायिक कार्ययोजना पनि पेस गर्नुपर्नेछ। आवेदन दस्तुर ५ हजार रुपैयाँ तोकिएको छ। छनोट समितिले शैक्षिक योग्यता, कार्यअनुभव, व्यावसायिक कार्ययोजना र प्रस्तुतीकरणका आधारमा योग्य उम्मेदवार सिफारिस गर्नेछ। झुट्टा विवरण वा कागजात पेस गरेमा आवेदन रद्द हुनुका साथै प्रचलित कानुनअनुसार कारबाही गरिने अर्थ मन्त्रालयले जनाएको छ।