पात्रो

रेडियो

समाचार खोजी

डिम्याट खाता नवीकरण शुल्क नबुझाए खाता रोक्का हुने

साझा अर्थ संवाददाता १० साउन २०८३, आइतवार

काठमाडौँ, १० साउन: डिम्याट (हितग्राही) तथा मेरोसेयर खाता नवीकरण गर्ने समयसीमा नजिकिँदै आएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले हालै एक सार्वजनिक सूचना जारी गर्दै आगामी साउन १५ गतेभित्र वार्षिक शुल्क नबुझाएका सम्पूर्ण डिम्याट खाताहरू साउन १६ गतेदेखि रोक्का राखिने स्पष्ट पारेको छ। तोकिएको समयावधिभित्र नवीकरण शुल्क नतिरेर खाता रोक्का भएमा लगानीकर्ताहरूले सेयर बजारमा कुनै पनि किसिमको खरिद-बिक्री तथा कारोबार गर्न पाउने छैनन्।

साधारणतया प्रत्येक वर्षको असार मसान्तभित्र बुझाइसक्नुपर्ने यस्तो वार्षिक शुल्क यस पटक लगानीकर्ताहरूको सुविधाका लागि साउनको १५ गतेसम्म थप गरिएको हो। नियमानुसार डिम्याट खाताबापत वार्षिक १ सय रुपैयाँ र मेरोसेयर प्रयोग गरेबापत थप ५० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ। सीडीएससीको पछिल्लो तथ्यांकअनुसार हाल मुलुकभर डिम्याट खाताको कुल संख्या ८० लाख ९ हजार ६२३ पुगेको छ भने मेरोसेयरमा सक्रिय खाता संख्या ५१ लाख ४८ हजार ८९४ रहेको छ। प्राथमिक बजारमा आईपीओ, एफपीओ तथा हकप्रद सेयर भर्नुका साथै दोस्रो बजारमा कारोबार भएको सेयर समयमै हस्तान्तरण गर्नका लागि समेत मेरोसेयर र डिम्याट नियमित नवीकरण गर्नु अनिवार्य हुन्छ।

घरमै बसेर अनलाइनमार्फत डिम्याट र मेरोसेयर नवीकरण गर्न अत्यन्त सहज व्यवस्था गरिएको छ। सर्वप्रथम आफ्नो ‘मेरोसेयर’ (MeroShare) खातामा लगइन गरेर ड्यासबोर्डको दायाँतर्फ माथि रहेको आफ्नो नाम वा प्रोफाइल आइकनमा क्लिक गर्नुपर्छ। त्यसपछि ‘एकाउन्ट इन्फर्मेसन’ भित्र रहेको ‘रिन्यू एकाउन्ट’ मा गएर इसेवा, खल्ती, प्रभु पे, आईएमई पे वा कनेक्ट आईपीएसजस्ता डिजिटल भुक्तानी माध्यमहरूमध्ये आफέले रोजेको माध्यम छनोट गर्न सकिन्छ। डिम्याट र मेरोसेयर दुवै नवीकरणको विकल्प छनोट गरी ‘प्रोसिड’ मा क्लिक गरेपछि सम्बन्धित भुक्तानी सेवा प्रदायकको माध्यमबाट तोकिएको रकम भुक्तानी गरी खातालाई सहज रूपमा नवीकरण गर्न सकिनेछ।

15 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु