काठमाडौं, ४ साउन २०८३ । राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंक तथा वित्तीय संस्थाले ग्राहकको खाता स्वतः रोक्का गर्न नपाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था संशोधन गर्दै माघ १, २०८० अघि खोलिएका खाताका ग्राहकलाई परिचयपत्रको विवरण अद्यावधिक गर्न २०८३ असोज मसान्तसम्मको समय दिएको हो।
संशोधित व्यवस्थाअनुसार ग्राहकले राष्ट्रिय परिचयपत्र प्राप्त गरेको वा नगरेको जानकारी मोबाइल बैंकिङ एप वा बैंकले उपलब्ध गराएको अन्य डिजिटल माध्यमबाट स्वघोषणा गर्न सक्नेछन्।
राष्ट्रिय परिचयपत्र प्राप्त नगरेकै आधारमा खाता रोक्का गर्नुको सट्टा बैंक तथा वित्तीय संस्थाले प्रत्येक छ महिनामा ग्राहकलाई विवरण अद्यावधिक गर्न सूचना पठाउनुपर्नेछ।
राष्ट्रिय परिचयपत्र प्राप्त गर्न ग्रामीण क्षेत्रका नागरिक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य सेवाग्राहीले समस्या भोगेको गुनासो बढेपछि राष्ट्र बैंकले व्यवस्था थप व्यावहारिक बनाएको हो।
विदेशमा रहेका नेपाली नागरिकले पनि तत्काल राष्ट्रिय परिचयपत्रको विवरण नबुझाई अनलाइनबाट बैंक खाता खोल्न सक्नेछन्। उनीहरूले नेपाल फर्किएको ३५ दिनभित्र विवरण उपलब्ध गराउनुपर्नेछ।
१६ वर्षमुनिका बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने व्यक्ति, अपाङ्गता भएका तथा असहाय नागरिकलाई भने राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थामा छुट दिइएको छ।
तोकिएको समयभित्र विवरण अद्यावधिक नगरे खाता अप्रमाणित वर्गमा पर्न सक्ने र केही बैंकिङ सेवा तथा ठूलो रकमको कारोबारमा सीमा लाग्न सक्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले नयाँ व्यवस्थाले ग्राहकको पहुँच सहज बनाउनुका साथै केवाईसी प्रणाली बलियो पार्न र ठगी, साइबर अपराध तथा सम्पत्ति शुद्धीकरणको जोखिम घटाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।