काठमाडौँ, ३० असारः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालमा भित्रिने रेमिट्यान्स उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यस अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि हुँदै रु २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ।
प्रतिवेदनका अनुसार जेठ महिनामा मात्रै रु दुई खर्ब तीन अर्ब ८९ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो आर्थिक वर्षको सोही महिनामा भने रु एक खर्ब ७६ अर्ब ३२ करोड विप्रेषण प्राप्त भएको थियो।
यसै अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) बढेर रु २३ खर्ब २१ अर्ब सात करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आय रु १६ खर्ब ६९ अर्ब ५१ करोड रहेको थियो।
वैदेशिक रोजगारीतर्फ पनि उल्लेख्य सङ्ख्यामा नेपाली श्रमिक विदेशिएका छन्। जेठ मसान्तसम्म संस्थागत तथा व्यक्तिगत नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या तीन लाख ६७ हजार २११ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ५५ हजार ७३५ रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ।