काठमाडौँ, ३० असार: पूँजी बजारमा लगातार आएको ठूलो गिरावटलाई सम्बोधन गर्न र बजारलाई स्थायित्व दिन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बोलाएको महत्त्वपूर्ण बैठक असन्तुष्ट लगानीकर्ताहरूको चर्को विरोधका कारण प्रभावित भएको छ। बोर्डले बजार सुधारको नयाँ कार्ययोजनाका विषयमा राय-सुझाव गर्न असार ३० गते दिउँसो २ बजेका लागि स्टक ब्रोकरहरूलाई छलफलमा आमन्त्रण गरेको थियो।
स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अनुसार पछिल्लो समय बजारमा देखिएको मन्दी र समस्याहरूलाई नीतिगत रूपमा सम्बोधन गर्नका लागि बोर्डले नयाँ नीतिहरू तर्जुमा गर्ने गृहकार्य गरिरहेको छ। सोही सम्बन्धमा सुझाव संकलन गर्न यो बैठक आह्वान गरिएको थियो। यसअघि धितोपत्र बोर्डले पूँजी बजारको विकास, विस्तार र बजार चलायमान बनाउनका लागि नयाँ ‘रोडम्याप’ सार्वजनिक गर्ने प्रतिबद्धतासहितको सूचना समेत जारी गरिसकेको छ।
तर, असार ३० गते बिहान ९ बजेदेखि नै सेबोनको केन्द्रीय कार्यालय बाहिर शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका लगानीकर्ताहरूले नियामकले केवल छलफल र कागजी प्रक्रियामा मात्र समय बिताएको भन्दै आपत्ति जनाएका छन्। तत्काल बजार जोगाउने ठोस ‘उद्धार योजना’ (रेस्क्यू प्लान) सार्वजनिक गर्नुपर्ने माग आन्दोलनकारीहरूको छ।
लगानीकर्ताहरूले आम सर्वसाधारण बाहिर सडकमा आफ्नो लगानी गुमाइरहेको अवस्थामा भित्र बन्द कोठामा ब्रोकरहरूसँग मात्र गरिने छलफल न्यायसंगत नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्। विरोधका कारण बैठकका लागि आउने ब्रोकर प्रतिनिधिहरूलाई प्रवेशमै अवरोध सिर्जना गरिएपछि पूर्वनिर्धारित छलफल प्रभावित हुन पुगेको छ। लगानीकर्ताहरूले बजार सुधारका लागि तत्काल ठोस र व्यावहारिक कदम नचालिएसम्म आफ्नो दबाबमूलक कार्यक्रम जारी रहने चेतावनी दिएका छन्।