काठमाडौँ, ३० असार: जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै नगरलाई स्वच्छ, आकर्षक र व्यवस्थित सहरी केन्द्रका रूपमा विकास गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ। सोमबार आयोजित १५ औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मनोजकुमार साहले 'सफा र समृद्ध जनकपुरधाम' को परिकल्पना साकार पार्न पर्यटन पूर्वाधार विकासमा विशेष जोड दिइएको जानकारी दिनुभयो।
नगरप्रमुख साहका अनुसार आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ भने हाल कार्यान्वयनका चरणमा रहेका आयोजनाहरूलाई समयमै सम्पन्न गर्न तिनको गति तीव्र बनाइनेछ। उपमहानगरपालिकाले आगामी वर्षका लागि कुल २ अर्ब ६५ करोड रुपैयाँको बजेट पारित गरेको छ।
नगरसभामा वडा नम्बर १६ का अध्यक्ष रामचन्द्र पञ्जियारले प्रस्तुत गर्नुभएको उक्त बजेटमा चालु खर्चतर्फ १ अर्ब ४२ करोड रुपैयाँ र पूँजीगत खर्चतर्फ १ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको छ। क्षेत्रगत रूपमा आर्थिक विकासका लागि ५ करोड ९० लाख, सामाजिक विकासका लागि ८३ करोड २० लाख, पूर्वाधार विकासका लागि ९१ करोड २० लाख, सुशासन तथा सम्बन्धित क्षेत्रका लागि ३१ करोड ७० लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ५३ करोड रुपैयाँ बजेट छुट्याइएको छ।