काठमाडौँ, २५ असार: औषधि उत्पादन क्षेत्रको अग्रणी कम्पनी टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने प्रक्रियालाई तीव्रता दिएको छ। कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरी थप प्रक्रिया अघि बढाएको हो।
यसै सिलसिलामा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले सार्वजनिक सूचना जारी गर्दै योग्य संस्थागत लगानीकर्ताहरूबाट आशयपत्र पेश गर्न आह्वान गरेको छ। धितोपत्र बोर्डको निर्देशिका बमोजिम कम्पनीको वित्तीय अवस्था र व्यावसायिक सम्भावनाका आधारमा वास्तविक बजार मूल्य तय गर्न यो प्रक्रिया सुरु गरिएको हो।
इच्छुक योग्य संस्थागत लगानीकर्ताहरूले तोकिएको म्यादभित्र शेयर खरिदका लागि आफूले लिन चाहेको शेयर सङ्ख्या र मूल्य खुलाई नबिल इन्भेष्टमेन्टको कार्यालयमा आशयपत्र पेश गर्नुपर्नेछ। संस्थागत लगानीकर्ताहरूबाट प्राप्त आवेदनको मूल्याङ्कन गरी मूल्य निर्धारण भएपछि मात्र सर्वसाधारणका लागि शेयर निष्कासनको अर्को चरण तय गरिने जनाइएको छ।