काठमाडौँ, २५ असार: राहदानी विभागले नयाँ राहदानी प्रणालीमा स्तरोन्नति गर्नका लागि आफ्ना नियमित सेवाहरू केही दिनका लागि स्थगित गरेको छ। विभागका अनुसार देशका विभिन्न जिल्ला प्रशासन कार्यालयहरू, इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली दूतावासहरूबाट प्रवाह हुने राहदानी सम्बन्धी सेवाहरू असार २४ देखि असार २६ गतेसम्म ३ दिनका लागि पूर्ण रूपमा बन्द रहनेछन्। काठमाडौँस्थित केन्द्रीय राहदानी विभागमा भने असार २५ र २६ गते दुई दिनका लागि नयाँ आवेदन लिने कार्य रोकिनेछ। नयाँ प्रणाली मार्फत आगामी असार २९ गतेदेखि सबै सेवाहरू नियमित रूपमा सुचारु हुने विभागले जनाएको छ।
यो अवधिमा नयाँ आवेदन र प्रणालीगत कामहरू रोकिने भए तापनि तयारी अवस्थामा रहेका राहदानीहरू वितरण गर्ने कार्य भने निरन्तर खुल्ला रहनेछ। यसअघि नै राहदानी तयार भइसकेको जानकारी सहितको मोबाइलमा सङ्केत (एसएमएस) प्राप्त गरिसकेका सेवाग्राहीहरूले यस अवधिमा पनि विभागमा गएर आफ्नो पासपोर्ट लिन सक्नेछन्। प्रणालीमा गरिने यो सुधारले आगामी दिनमा राहदानी सेवा प्रवाहलाई थप छिटो र व्यवस्थित बनाउने विश्वास लिइएको छ।