काठमाडौं :पाकिस्तानी सेनाले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन्। यो आक्रमण शनिबार कराचीमा पाकिस्तानी अर्धसैनिक रेंजर्सको क्षेत्रीय मुख्यालयमा भएको आक्रमणको जवाफ स्वरूप गरिएको हो।
पाकिस्तानी सेनाले अफगानिस्तानको पक्तिया र कुनार प्रान्तका नागरिक बस्तीमा केन्द्रित आक्रमण गरेको हो। पक्तिया प्रान्तको समकानी जिल्लामा मात्र ३५ जनाको मृत्यु भएको स्थानीय पुलिस कमाण्डका प्रवक्ता मुनीब जदरानले टोलो न्यूजलाई जानकारी दिएका छन्।
अफगान तालिबान सरकारले यस आक्रमणको कडा निन्दा गर्दै यसलाई ‘बर्बरतापूर्ण कृत्य’ करार गरेको छ। सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्, “पाकिस्तानी सेनाले पक्तिका र कुनार प्रान्तमा आम नागरिकलाई निसाना बनाएर महिला र बालबालिकाको हत्या गरेको छ। यो स्पष्ट रूपमा बर्बरतापूर्ण आक्रामकता हो।”
उनले पाकिस्तानी सेना प्रमुख असीम मुनीर र प्रधानमन्त्री शहबाज शरीफलाई चेतावनी दिँदै यस्तो कार्यको पुनरावृत्ति नगर्न आग्रह गरेका छन्।
पाकिस्तानी पक्षले भने आफूले तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) का २९ लडाकुलाई मारेको दाबी गरेको छ। पाकिस्तानी सूचना मन्त्री अताउल्लाह तरारले कराची आक्रमणको प्रत्युत्तर स्वरूप यो कारबाही गरिएको बताएका छन्।
तर अफगान अधिकारीहरूले मारिनेहरूमा सबै सर्वसाधारण नागरिक रहेको र तिनीहरूमा साना बालबालिका पनि रहेको स्पष्ट पारेका छन्। यस घटनापछि दुई देशबीचको तनाव चरम बिन्दुमा पुगेको छ। पाकिस्तानले गत वर्ष अक्टोबरपछि धेरै पटक अफगान क्षेत्रमा हवाई आक्रमण गरिसकेको छ, जसलाई अफगान सरकारले निरन्तर विरोध गर्दै आएको छ। एजेन्सी




