काठमाडौं । देशको औद्योगिक केन्द्रका रूपमा परिचित बागमती प्रदेशमा औद्योगिक कर्जाको आकार निरन्तर बढ्दै गएको छ। गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले उद्योग क्षेत्रमा लगानी गरेको कर्जा १३.८ प्रतिशतले वृद्धि भई १२ खर्ब रुपैयाँभन्दा माथि पुगेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ।
बागमती प्रदेशमा सञ्चालत उद्योगहरुमा १२ खर्ब रुपियाँभन्दा बढीको ऋण लगानी भएको छ । गत असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले बागमती प्रदेशका उद्योगमा प्रवाह गरेको कर्जा १३.८ प्रतिशतले बढेर १२ खर्ब ११ अर्ब पाँच करोड रुपियाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा ११.५ प्रतिशतले बृद्धि भई १० खर्ब ६३ अर्ब ९४ करोड रुपियाँ पुगेको थियो ।
नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ मा आधारीत ‘बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ का अनुसार बागमती प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३६.४ प्रतिशत छ ।
औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ११ खर्ब १९ अर्ब ३० करोड रुपियाँ (९२.४ प्रतिशत) र सबैभन्दा कम रसुवा जिल्लामा १३ करोड (०.०१ प्रतिशत) रुपियाँ कर्जा लगानी छ ।
अधिकांश औद्योगिक प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौंमा रहेकोले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौंमा देखिएको सो अध्ययनले देखाएको छ ।
कृषि कर्जा ३६.१६ प्रतिशत
समीक्षा अवधिमा क्षेत्रमा प्रवाहित कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले बढेर एक खर्ब २१ अर्ब रुपियाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा ५.१ प्रतिशतले घटेको थियो । बागमती प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाले कुल कर्जाको ३.७ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् । कुल कृषि कर्जा मध्ये बागमती प्रदेशमा प्रवाह भएको कृषि कर्जाको हिस्सा ३६.१६ प्रतिशत रहेको छ ।
कृषि क्षेत्रमा प्रवाहित कर्जामा काठमाडौं जिल्लाको हिस्सा सबैभन्दा बढी ५२.६ प्रतिशत, चितवन जिल्लाको हिस्सा २३.१ प्रतिशत, मकवानपुर जिल्लाको हिस्सा ४.७ प्रतिशत, काभ्रेपलाञ्चोक जिल्लाको हिस्सा ४.३ प्रतिशत र दोलखा जिल्लाको हिस्सा सबैभन्दा कम ०.५ प्रतिशत छ ।
जिल्लागत कृषि कर्जाको अवस्था हेर्दा काठमाडौं र चितवनमा अधिक केन्द्रित छ । अधिकांश बैङ्क तथा वित्तीय संस्थाको कर्जा सीमा बमोजिम केन्द्रीय एवम् क्षेत्रीय कार्यालयबाट कर्जा स्वीकृत हुने र त्यस्ता कार्यालय धेरैजसो काठमाडौं जिल्लामा भएका कारण सो जिल्लाको कृषि कर्जाको हिस्सा बढी देखिने गरेको अनुमान छ ।
बैङ्क तथा वित्तीय संस्थाले बागमती प्रदेशबाट सङ्कलन गरेको कुल निक्षेप गत वर्षको तुलनामा १०.८४ प्रतिशत र कर्जा प्रवाह ११.३५ प्रतिशतले बढेको छ । गत असार मसान्तमा कर्जा निक्षेप अनुपात औसतमा ६९.२७ प्रतिशत छ ।