काठमाडौँ, ६ साउन: नेपाल धितोपत्र बोर्ड (SEBON) ले आफ्नो कोषमा रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्नका लागि यसअघि अघि बढाइएको सम्पूर्ण प्रक्रिया रद्द गरेको छ। बोर्डले एक आधिकारिक सूचना जारी गर्दै विशेष परिस्थतिका कारण गत असार २२ गते प्रकाशित गरिएको लगानीसम्बन्धी आह्वानलाई खारेज गरिएको जानकारी दिएको छ।
बोर्डले आफ्नो रक्षित कोष (एन्डोमेन्ट फन्ड) तथा अन्य लगानीयोग्य स्रोतहरूबाट बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा रकम राख्ने गरी उक्त प्रक्रिया सुरु गरेको थियो। तर, हाल आएर देखिएका केही विशेष कारणहरूले गर्दा सो निर्णयबाट पछि हट्दै बोर्डले सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय लिएको हो।
उक्त लगानी प्रक्रिया रद्द भएपछि यस विषयमा थप जानकारी वा अन्य जिज्ञासा भएका सरोकारवाला पक्षहरूलाई बोर्डको लेखा तथा वित्त महाशाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।