दोलखाः बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय दोलखाको समग्र प्रगति ८७ प्रतिशत रहेको पाइएको छ । चालु आर्थिक वर्षको पूँजिगत तथा साधारण तर्फ गरी सो प्रतिशतमा कार्यालयको कार्य प्रगति पाइएको हो ।
चालु तथा पूँजिगत खर्चतर्फ कार्यालयलाई चालु आर्थिक वर्ष २०८१/८२ मा बागमति प्रदेश सरकारबाट कुल ७३ करोड ३१ लाख ८८ हजार बजेट विनियोजन भएकोमा ६४ करोड १७ लाख २८ हजार खर्च गर्न कार्यालय सफल भएको पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा कार्यालयलाई बागमती प्रदेश सरकारबाट चालु तर्फ १ करोड ४२ लाख ८७ हजार तथा पूँजिगत तर्फ ७१ करोड ८९ लाख १ हजार रकम विनियोजन भएको कार्यालय प्रमुख ओझाको भनाई रहेको छ । विनियोजित रकम मध्ये चालुतर्फ ५९ प्रतिशत तथा पूँजिगत तर्फ ८८ प्रतिशत रकम खर्च भएको कार्यालयको तथ्याङ्क छ ।
चालु आर्थिक वर्षमा कुल सात सडक योजना रहेकोमा तीन वटा सम्पन्न भएका छन् भने बहु वर्षिय पुल तर्फ चार योजना रहेकोमा दुइ वटा सम्पन्न भएका छन् । यस्तै सालवसाली साना ठेक्का ६५ वटा रहेकोमा ६१ वटा सम्पन्न भएका छन भने उपभोक्ता समिति मार्फत ६९ योजना रहेकोमा सबै योजना सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय अन्तर्गतका पाँचवटा बहुवर्षिय योजनाहरु सम्पन्न भएको कार्यालयलयले जानकारी दिएको छ । सम्पन्न बहुवर्षिय योजनाहरुमा सुनखानी साङ्बा सडक, चरिकोट–देउराली, कालिञ्चोक–टुटुवान सडक अन्तर्गत देउराली गैह्री सडक खण्ड, भीरकोट–झुले–छौंडे सडक तामाकोशी गाउँपालिका वडा नम्बर एक, झ्याँकु खोला पक्की पुल तथा गुस्बुखोला पक्कि पुल रहेका छन् ।
यसैगरी कार्यालयले स्रोत सुनिश्चित भएका पाँचवटा बहु वर्षिय ठेक्का सम्झौता गरेको कार्यालय प्रमुख ओझाले जानकारी दिनुभयो । ठेक्का सम्झौता भएका सडकहरुमा भीरकोट–झुले–छौंडे सडक(बैत्येश्वर, तामाकोशी गाउँपालिका), मुडे मेलुङ सितली सडक(भैसे बुद्धचोक खण्ड), जिरी चेर्दुङ सडक, चरिकोट–देउराली–कालिञ्चोक सडक( गैरी–कुरी खण्ड) तथा बालगृह–महाँङ्काल–माघा देउराली सडक रहेको पूर्वाधार विकास कार्यालय दोलखाका प्रमख ओझाको भनाई रहेको छ ।

साझा अर्थ संवाददाता