काठमाडाै: इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको व्यापार ७.७ प्रतिशत बढेको छ।
गत वर्ष कम्पनीले ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ व्यापार गरेको छ। अघिल्लो वर्ष सन् २०२३ मा वर्ल्डलिंकको इन्टरनेट व्यापार १० अर्ब ३३ करोड २० लाख रुपैयाँ थियो।
एक वर्षको अवधिमा कम्पनीको इन्टरनेट व्यापार ७९ करोड ६० लाख रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ। सन् २०२२ मा कम्पनीले नौ अर्ब ३९ करोड रुपैयाँको व्यापार गरेको थियो।
पछिल्लो तीन वर्षको वित्तीय विवरण हेर्दा वर्ल्डलिंकको इन्टरनेट व्यापार बढ्दै गएको छ। यो वर्षको नौ महिनामा कम्पनीले आठ अर्ब ७२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको जनाइएको छ।
गत वर्ष गरेको कुल व्यापारमध्ये आईएसपी सेवाको बिक्रीबाट ५०, अनुगमन तथा प्राविधिक सहयोगबाट ४२ र बाँकी ८ प्रतिशत सेवा, उपकरण र अरू बिक्रीबाट आम्दानी भएको कम्पनीले जनाएको छ।
कम्पनीले तीन अर्ब ९४ करोड ६० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। नेपालको इन्टरनेट बजारमा वर्ल्डलिंकको हिस्सा ३२ प्रतिशत पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको प्रतिवेदनानुसार कुल इन्टरनेट ग्राहक आधार ३१ लाख ३० हजार ६५५ पुगेको छ।
कम्पनीले विगत केही वर्षदेखि बजार विस्तारका निम्ति नयाँ स्थानमा नेटवर्क पूर्वाधार स्थापना गर्न उल्लेखनीय पुँजीगत खर्च गरेको छ। कम्पनीले हाल देशभरि डाटा सेन्टर परियोजना विकास गर्न छुट्टै कम्पनी स्थापना गरेको छ।
121
Shares