राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलबिच भेटवार्ता भएको छ।
मंगलबार सिंहदरबारस्थित योजना आयोगमा भएको भेटमा वित्त नीति र मौद्रिक नीतिको अन्तरसम्बन्ध र स्वतन्त्रताबारे छलफल भएको बताइएको छ। यी दुई नीतिहरू सँगसँगै कार्यान्वयनमा लैजान एक–अर्कामा सहजीकरण गर्ने बारेमासमेत छलफल भएको छ।
आयोगका उपाध्यक्ष र गभर्नर दुवैले अर्थतन्त्रलाई कोभिड– १९ पूर्वको अवस्थामा लैजाने र योजनाले लक्षित गरेअनुरूपको उच्च दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे।
छलफलका क्रममा उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्राथमिकीकरण, आयोजना बैंकको प्रभावकारी कार्यान्वयन तथा मध्यमकालीन खर्च संरचनालगायतका विषयमा योजना आयोगबाट भए–गरेका सुधारका कार्यबारे जानकारी गराए।
यसैगरी गभर्नर डा. पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षण गर्दै लगानीको वातावरण सिर्जना गर्न राष्ट्र बैंकले त्यस सम्बन्धमा सहजीकरण गर्ने बताए। साथै यस्ता विषयहरूमा समय–समयमा थप छलफल गर्नेबारे पनि कुराकानी भएको बताइएको छ।
साझा अर्थ संवाददाता