नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकहरूको निक्षेप ६९ खर्बभन्दा बढी पुगेको छ । ८ जेठमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा ६९ खर्ब एक अर्ब रुपैयाँ निक्षेप कायम भएको थियो । संकलन भएको निक्षेपमध्ये वाणिज्य बैंकहरूमा मात्रै ६१ खर्ब ६६ अर्ब रुपैयाँ छ । अन्य बैंक तथा वित्तीय संस्थामा भने सात खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप कायम भएको राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको दैनिक निक्षेप–कर्जासम्बन्धी तथ्यांकले देखाएको छ ।
बढ्दो रेमिट्यान्सले नेपाली बैंकहरूमा निक्षेप बढ्दै गएको छ । आर्थिक वर्ष नजिकिँदै गर्दा सरकारको खर्च पनि बढेको छ । सरकारको खर्च बढ्दा पछिल्ला दिनमा बैंकहरूको निक्षेप उच्चदरमा बढ्दै गएको छ ।
हालसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह भने ५५ खर्ब ३४ अर्ब रुपैयाँ रहेको छ । त्यसमा वाणिज्य बैंकहरूले मात्रै ४९ खर्ब १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह भने ६ खर्ब १८ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
तर, निक्षेपको तुलनामा कर्जा प्रवाह भने कम नै देखिन्छ । बैंकहरूले कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म पुग्ने गरी कर्जा प्रवाह गर्न पाउँछन् । तर, अझै पनि उनीहरूको यस्तो अनुपात ७९।०१ प्रतिशत मात्रै छ ।
अर्थात्, बैंकहरूले अझै निक्षेपको १०.९९ प्रतिशत रकम कर्जाका रूपमा प्रवाह गर्न सक्नेछन्, जुन रकम सात खर्ब ५९ अर्ब रुपैयाँ हुन आउँछ । कर्जाको माग बढ्न नसक्दा त्यो बैंक बैंकमै थ्रुपिएको छ ।
विगतमा देखिएको आर्थिक शिथिलताले झन्डै दुई वर्ष कर्जा प्रवाह न्यून थियो । पछिल्लोे समय आयातलगायतका आर्थिक गतिविधि बढ्दा बैंकहरूमा कर्जाको माग सामान्य रूपमा बढ्न थालेको छ । तर, निक्षेपको तुलनामा कर्जा प्रवाह अझै कम भएको बैंकरहरू बताउँछन् ।
साझा अर्थ संवाददाता