पात्रो

रेडियो

समाचार खोजी

उर्जा मन्त्री खड्काद्वारा नो–लाइट शाखा निरीक्षण : “लोडसेडिङ हुँदैन, हल्लाको पछि नलाग्नुस”

साझा अर्थ संवाददाता १२ जेठ २०८२, सोमवार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कुलेश्वरस्थित कालीमाटी नो–लाइट शाखामा स्थलगत निरीक्षण गर्दै उपभोक्ता गुनासो तथा वितरण व्यवस्थासम्बन्धी जानकारी लिनुभएको छ ।
नो–लाइट शाखा अन्तरगत विभिन्न स्थानमा देखिएको विद्युत आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे जानकारी लिइसकेपछि मन्त्री खड्काले पत्रकारहरूसँग कुरा गर्दै केही महत्वपूर्ण निर्देशन र स्पष्टीकरण दिनुभयो ।
मन्त्री खड्काले हाल देशमा उत्पादन भइरहेको विद्युतले माग पूरा गर्न पर्याप्त रहेको स्पष्ट पार्दै भन्नुभयो, “लोडसेडिङ हुँदैन, हुन दिइदैन ।” उहाँले केही समूह वा व्यक्तिहरूले नियोजित रूपमा बजारमा हल्ला फैलाइरहेको भन्दै त्यस्ता भ्रामक प्रचारको पछि नलाग्न आम जनसमुदायलाई अनुरोध गर्नुभयो ।
“विगतका वर्षहरूमा अहिलेभन्दा बढी समस्या देखिन्थ्यो,” उहाँले भन्नुभयो, “अहिलेको अवस्था तुलनात्मक रूपमा सहज छ । कतै असामान्य मौसम, हावा हुरी वा चट्याङका कारण केही क्षणको समस्या देखिए पनि त्यो चाँडै समाधान भइरहेको छ । अब ढुक्क हुनुस्, सबै कर्मचारी र निकाय जिम्मेवार भएर काम गरिरहेका छन् ।”
स्थलगत निरीक्षणकै क्रममा मन्त्री खड्काले स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी) को समेत आकस्मिक अवलोकन गर्नुभएको थियो । उहाँले एलडीसी  मार्फत मुलुकभरको विद्युत प्रवाह अवस्था नियाल्दै, प्रविधि र कर्मचारी व्यवस्थापनको स्थितिबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो ।
मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई उपभोक्ताप्रति जिम्मेवार र जवाफदेही भएर काम गर्न निर्देशन दिनुभएको छ । उहाँले बजारमा सञ्चालित अपुष्ट सूचना र असत्य प्रचारले आम जनतामा भ्रम सिर्जना गर्ने भन्दै त्यसप्रति सचेत रहन जोड दिँदै भन्नुभयो – “हामी सस्तोमा बिजुली किनेर अहिले भारतलाई उच्च मूल्यमा बेच्न सफल भएका छौं ।” उहाँले विद्युत व्यापारलाई राष्ट्रको हितमा प्रयोग भइरहेको बताउनुभयो ।
निरीक्षण टोलीमा ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसहित अन्य प्राविधिक अधिकारीहरूको उपस्थिति रहेको थियो ।
सरकारले लोडसेडिङको पुनरावृत्ति हुन नदिन प्रणाली सुदृढीकरण, आपूर्ति निरन्तरता र गुनासो व्यवस्थापनमा कडाइ गर्ने नीति अवलम्बन गरेको मन्त्री खड्काले स्पष्ट पार्नुभयो ।

201 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता