काठमाडाैः हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १९.७६ प्रतिशत बढेको छ भने कुल आम्दानी २१.७६ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ४२.३७ प्रतिशत र कुल खर्च २४.७० प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २७ पैसा बढेर १२ रुपेयाँ ६८ पैसा पुगेको छ। चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ २४ पैसा रहेको छ ।
साझा अर्थ संवाददाता