काठमाडौँः नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड को कायममुकायम सीईओ मा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल नियुक्त हुनुभएको छ । बैंकको वैशाख ३० गते बसेको सञ्चालक समितिको ६३९ औँ बैठकको निर्णय अनुसार ढकाल बैंकको कामु सीईओमा नियुक्त हुनु भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे स्मार्ट टेलिकम सम्बन्धी बैंकिङ मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेपछि संस्थाको नेतृत्वलाई निरन्तरता दिन र दैनिक कार्यसम्पादनलाई चुस्त राख्न सञ्चालक समितिले यो निर्णय लिएको बैंक सञ्चालक समितिले जानकारी दिएको छ ।
चार्टर्ड एकाउन्टेन्ट समेत रहनुभएका नवनियुक्त कामु सीईओ ढकालसँग नेपाली बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो र प्रतिष्ठित व्यावसायिक अनुभव छ । यसअघि उहाँले ग्लोबल आइएमई बैंक, साविकको मेगा बैंक, टुरिजम डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंक लगायतका विभिन्न वित्तीय संस्थाहरूको उच्च व्यवस्थापकीय नेतृत्व सम्हालिसक्नुभएको छ । उहाँ नेपाल क्लियरिङ हाउस लिमिटेड को सञ्चालक समिति सदस्य समेत रहिसक्नुभएको छ ।