काठमाडौँ, २८ जेठ: कोशी प्रदेशकै सबैभन्दा ठुलो र आधुनिक पर्यटकीय संरचनाका रूपमा सुनसरीको इटहरीमा करिब २ अर्ब रुपैयाँको लागतमा ‘विन्डह्याम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर’ को निर्माण सुरु भएको छ। एबी हस्पिटालिटीद्वारा सञ्चालित यस परियोजनामा एभरेष्ट बैंक र मुक्तिनाथ विकास बैंकले मुख्य वित्तीय लगानी गरेका छन्।
पर्यटन उद्यमी देशबन्धु बस्नेतको नेतृत्वमा इटहरीको भाटभटेनी नजिकै निर्माण भइरहेको यस सेन्टरमा एकैपटक ४ हजार पाहुना अटाउने क्षमता रहनेछ। सुविधासम्पन्न पूर्वाधारको अभावमा पूर्वी नेपालका ठुला सम्मेलन र गन्तव्य विवाहका लागि काठमाडौँ वा भारत धाउनुपर्ने बाध्यतालाई यसले अन्त्य गर्नेछ। द्रुत गतिमा विकास भइरहेको विराटनगर–इटहरी–धरान आर्थिक कोरिडोरमा अवस्थित यो रिसोर्टले आन्तरिक तथा छिमेकी देश भारत, भुटान र बङ्गलादेशका पर्यटकहरूलाई आकर्षित गर्दै पूर्वी नेपालको आर्थिक रूपान्तरण र रोजगारी सिर्जनामा ठुलो योगदान पुर्याउने विश्वास लिइएको छ।