अर्थ मन्त्रालयले कृषि तथा पशुपक्षीपालन व्यवसाय कर्जा कार्यविधि, २०८२ स्वीकृत गरेसँगै किसानलाई राहत हुने भएको हो । मन्त्रालयले ०६७ सालको पशुपालन कर्जासम्बन्धी कार्यविधि खारेज गर्दै नयाँ कार्यविधि लागू गरेपछि साना किसानले ९ प्रतिशत ब्याजदरमा पाइरहेको कर्जा अब ७ प्रतिशतमा पाउने भएका हुन् ।
यसअघि मासुजन्य र दुग्धजन्य पशुपालन र तरकारी खेतीमा मात्रै कर्जा दिने गरिएको थियो । पशुपालनमा भेडाबाख्रा, बंगुर, पाडापाडी, भैँसी र गाईमा मात्रै लघुवित्तले कर्जा दिइरहेको छ । नयाँ कार्यविधिले कृषि व्यवसायतर्फ खाद्यान्न बाली, नगदे बाली र फलफूललाई समेटेको छ । यसमा भण्डारण, प्रशोधन र बजारीकरण पनि उल्लेख छ । पशुपक्षी व्यवसायतर्फ गाईभैँसी, पाडापाडी, बाख्रा, भेडा, बंगुर, कुखुरा, हाँस, कालिज, माछापालन र मौरीपालन व्यवसायलाई पनि समेटिएको छ ।
साझा अर्थ संवाददाता