काठमाडौँः स्वास्थ्य तथा जंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकार मातहतका अस्पतालका उपकरण मर्मत गर्न सहकार्य गर्ने सम्झौता भएको छ । सङ्घीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा बुधवार सम्झौता भएको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र आविष्कार केन्द्रकातर्फबाट अध्यक्ष डा महाविर पुनबीच त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले जनकारी दिएको छ । सो अवसरमा स्वास्थ्यमन्त्री पौडेलले राज्यमा उपलब्ध सिमित स्रोत साधनकाबीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित तुल्याउनुपर्ने भएकाले केन्द्रसँग सहकार्य गर्न लागिएको बताउनुभयो । अस्पतालमा प्रयोग हुन नसकेर थन्किएका उपकरणलाई प्रयोगमा ल्याउन सकिएमा नयाँ खरिद गर्न लाग्ने ठूलो खर्च जोगिने उहाँको भनाई रहेको छ । अस्पतालमा प्रयोगमा आउने र नआउने छुट्याएर सोही अनुरुप व्यवस्थापन गर्न जरुरी भएकोले त्यो काम गर्दा अस्पताल सफा हुने र कम खर्चमा उपकरण प्राप्त हुने भएका कारण आविष्कार केन्द्रसँग सहकार्य गर्न लागिएको मन्त्री पौडेलले बताउनुभयो । सोही अवसरमा केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य क्षेत्र सुधारका सन्दर्भमा आविष्कार केन्द्रले अर्को महत्वपूणर् जिम्मेवारी पाएको बताउनु भएको थियो । केन्द्रले क्षमताले भ्याएसम्म इमान्दारिपूर्वक कुनै छलछाम नगरीकन राष्ट्र र जनताको सेवा गर्ने प्रतिवद्धता उक्त अबसरमा पुनले ब्यक्त गर्नु भएको थियो ।
साझा अर्थ संवाददाता