काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा दायर रिट सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश शारङ्ग सुवेदीको इजलासमा पेशी तोकिएको छ । उक्त रिटको सुनुवाइ आज सर्वोच्च अदालतको आठौँ नम्बर इजलासमा हुनेछ ।
यसअघि, गत शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले सरकारका सम्बन्धित निकायलाई आवश्यक कागजातसहित स्पष्ट लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरूले सरकारको निर्णय अन्यायपूर्ण रहेको जिकिर गर्दै न्यायिक पुनरावलोकनको माग गरेका छन् ।
सरकारका तर्फबाट पेस हुने लिखित जवाफपछि मुद्दाले नयाँ मोड लिन सक्ने देखिएको छ। सर्वोच्चको आगामी आदेशले विद्युत् प्राधिकरणको नेतृत्वबारे थप कानुनी र नीतिगत बहस उत्पन्न गर्नेछ ।
साझा अर्थ संवाददाता