पात्रो

रेडियो

समाचार खोजी

चितवनका  दुई सय ५३ सुकुमवासीलाई लालपुर्जा

साझा अर्थ संवाददाता ४ चैत २०८१, सोमवार

चितवनको भरतपुर महानगर र रत्ननगर नगरपालिकाका दुई सय ५३ भूमिहीन दलित तथा सुकुमवासी घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न ११ का एक सय १६, वडा नम्बर १५ का नौ र वडा नम्बर २६ का चार गरी एक सय २९ र रत्ननगरका एक सय २४ घरधुरीलाई आइतबार एक कार्यक्रमबिच लालपुर्जा वितरण गरिएको हो ।

लालपुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अबको असारसम्म एक लाख भूमिहीन, सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने बताए । भूमि समस्या समाधान आयोगमा नयाँ नेतृत्व आएपछि पहिलोपटक चितवनबाट जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु भएको हो । उनले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानुनको व्यवस्था गर्ने बताए । अहिले गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुन खर्कलगायतका क्षेत्रका बस्तीमा समस्या देखिएको बताउँदै उनले यस्ता समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताए । 

सो अवसरमा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जनता राज्यका शक्ति भएकाले उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा दिनु सरकारको मुख्य दायित्व रहेको बताए । तीन वर्षभित्र १० लाख ९७ हजार ६ सय ७० जनाको समस्या समाधान गर्ने गरी काम अघि बढाइएको बताए । आयोगका उपाध्यक्ष सनतकुमार कार्कीले सुकुमवासी समस्या समाधानका लागि आयोगले तीव्र गतिमा काम गर्ने बताए ।

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुकुमवासीलाई जग्गा दिने विषयलाई राजनीतीकरण गर्न नहुने तर्क गरिन् । ‘सुकुमवासीलाई लालपुर्जा दिने विषयमा भरतपुरमा कुनै पनि राजनीतिक गन्ध देखिनेछैन, उनले भनिन्, ‘हामी नागरिकप्रति जिम्मेवार छौँ । स्थानीय सरकार भरतपुर महानगर जिम्मेवार छ ।’
 

256 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता