राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिँजा गाउँपालिका, जुम्ला, कर्णालीबिच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले एक कार्यक्रमबिच हस्ताक्षर गरेका हुन् ।
दुवै पक्षको सम्झौतापश्चात् जुनसुकै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका नेपाली नागरिक वा कानुनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले गाउँपालिकाको सिफारिससहित कर्जाका लागि आवेदन दिन सक्नेछन् । यसमा बैंकले लगानी गर्नेछ । उक्त कर्जा आवधिक र चालू पुँजी दुवै प्रकृतिको हुने बताइएको छ ।
यो कर्जा ग्रेस अवधिसहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिनेछ । बढीमा १० लाख रुपैयाँसम्म प्रदान गरिने किसान सरल कर्जामा आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने बैंकको भनाइ छ । साथै, गाउँपालिकाले आफ्नो कोषबाट ऋणिलाई १ प्रतिशत ब्याज अनुदानसमेत दिनेछ ।
कर्जा लगानीपश्चात् कृषिउपजको व्यावसायिक उत्पादन भई स्वरोगारमा वृद्धि हुने, आय–आर्जन बढ्ने, आयात प्रतिस्थापन हुने तथा गाउँपालिकाको नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । बैंकले देशभरका ७७ जिल्लाका दुई सय ९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, तीन १२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ इकाइबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
साझा अर्थ संवाददाता