गुल्मी । रेसुंगा विमानस्थलमा फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो ।
एयरलाइन्सका रेसुंगा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो । साना जहाज नेपाल एयरलाइन्ससँग दुईवटा छन् ।
‘एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो । जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौँमा छ,’ उनले भने, ‘फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन ।’
प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताए ।
रेसुंगा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास–काठमाडौं उडान भरेको थियो । विसं २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झण्डै २० महिनामा ९० वटामात्र उडान भएका छन् ।
साझा अर्थ संवाददाता