बागमती प्रदेश स्थापना भएदेखि कै गत आर्थिक बर्षमा बजेट खर्चमा सुधार भएको छ । विगतका बर्षहरुमा ६५ प्रतिशतसम्म वित्तीय प्रगति हासिल गरेको बाग्मतीमा गत आर्थिक वर्ष २०८०÷०८१ को असार मसान्तसम्म कुल बजेट खर्च ७२ दशमलव ८३ प्रतिशत गरेको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा पुँजीगत तर्फ ७९.४७ प्रतिशत, चालुतर्फ ६५.१४ प्रतिशत खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाले जनाएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० मा कुल विनियोजित बजेटको ६६.०६ प्रतिशत बजेट खर्च गरेको थियो । सो आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड बजेट सार्वजनिक गरेकोमा ४६ अर्व ८६ करोड खर्च गरेको थियो ।
आर्थिक वर्ष २०७८÷२०७९ मा प्रदेशको कुल बजेटको ६५.८३ प्रतिशत खर्च भएको थियो । सो आर्थिक वर्षमा ५७ अर्ब ७२ करोड बजेट ल्याइएको ३७ अर्ब ९९ करोड ४९ लाख ६५.८३ प्रतिशत खर्च गरेको थियो ।
आर्थिक वर्ष २०७७÷२०७८ मा प्रदेश सरकारले ६९ प्रतिशत खर्च गरेको थियो । उक्त आर्थिक वर्षमा प्रदेशले ५१ अर्ब ४२ करोड बजेट सार्वजनिक गरेकोमा जम्मा ३५ अर्ब ५९ करोड ४८ लाख गरेको थियो ।
आर्थिक २०७६÷२०७७ मा कुल बजेटको जम्मा ५८.७१ प्रतिशत खर्च गरेको थियो । सो बर्ष ४७ अर्ब ६० करोड ७८ लाख विनियोजित बजेट मध्ये २७ अर्ब ९५ करोड खर्च गरेको थियो ।
प्रदेश सरकारको पहिलो आर्थिक २०७५÷२०७६ मा ल्याएको बजेटको जम्मा ६० प्रतिशत मात्र खर्च भएको थियो भने कुल बजेटको ४० प्रतिशत फ्रिज भएको थियो ।
साझा अर्थ संवाददाता