sajhaartha.com ९ पुष २०८१, मङ्गलवार
९ पुष २०८१, मङ्गलवार
24th, December 2024, Tuesday
ताजा खबर

सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायी थप समस्यामा :अध्यक्ष सिंह

२३ मंसिर २०८१, आइतवार साझा अर्थ संवाददाता
66
Shares

 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्टको मूल्यमा भएको वृद्धिले निर्माण व्यवसायी थप अन्यायमा परेको बताएका छन्। यसै पनि पछिल्लो समय सरकारले निर्माण व्यवसायीको भुक्तानी दिन सकेको छैन। त्यो अवस्थामा सिमेन्टको मूल्य बढ्दा निर्माण व्यवसायीहरू थप अन्यायमा परेको उनको भनाइ छ। 

शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा आयोजना गरेको ‘विकास बजेटको परिचालन सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रम उनले यस्तो बताएका हुन्। 

सिमेन्टको मूल्य वृद्धिको विषयमा सरकारले तत्काल ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘छोटो समयमै सिमेन्टको मूल्य बोरामै २०० रुपैयाँले बढेको छ। यसले निर्माण व्यवसायीहरू अन्यायमा परेका छन्,’ उनले भने, ‘यसमा सरकारको ध्यान जान आवश्यक छ।’ यस्तै, उनले निर्माण व्यवसायीको बाँकी भुक्तानी तत्काल निकासा हुनुपर्ने उनले बताए। यसमा अर्थ मन्त्रालयले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। 

यसैगरी, निर्माण व्यवसायीले तिर्नुपर्ने ऋणको सावाँ र व्याज तिर्ने अवधि पनि थप गर्नुपर्ने उनले बताए। ‘राष्ट्र बैंकले ऋणको सावाँ र व्याज तिर्ने अवधि मंसिर मसान्तसम्म थप गरेको थियो। तर, अहिलेसम्म हामीले भुक्तानी पाउन सकेको छैनौँ। त्यो अवस्थामा मंसिरभित्र ऋण तिर्ने अवस्था छैन,’ उनले भने, ‘सरकारले भुक्तानी तत्काल गर्ने संकेत गरेको छैन।

राष्ट्र बैंकले पनि मौद्रिक नीतिको समीक्षामा यस विषयमा कुनै उल्लेख गरेको छैन। त्यो अवस्थामा मंसिरभित्र हामीले ऋण तिर्नुपर्ने दबाब छ। यसमा सरकारले ध्यान दिनुपर्छ।’
मंसिरभित्रै ऋण तिर्न नसकेमा निर्माण व्यवसायीहरू कालोसूचीमा पर्नेछन्। त्यसपछि निर्माण व्यवसायीले काम गर्न नसक्ने र समग्र निर्माण कार्य प्रभावित हुने उनले बताए।

साझा अर्थ संवाददाता
२३ मंसिर २०८१, आइतवार

66

Shares

सम्बन्धित समाचार