पात्रो

रेडियो

समाचार खोजी

माथिल्लो तामाकोशीबाट १० पुसभित्र विद्युत् उत्पादन हुने

साझा अर्थ संवाददाता २० मंसिर २०८१, बिहिवार

 

४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी १० पुसभित्रैबाट विद्युत् उत्पादन गर्ने गरी मर्मतसम्भार सुरु भएको छ। गत ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा ठुलो क्षति पुर्‍याएको थियो। बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्र्याउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट)मा ठुलो क्षति पुगेको थियो।

दुईवटा डिस्यान्डरमध्ये बायाँतर्फको डिस्यान्डरको मर्मतसम्भार आगामी १० पुसभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो। यसका लागि आंशिक रूपमा क्षति पुगेको डिस्यान्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिने अपर तामाकोशी हाइड्रोपावरले जनाएको छ। यसैगरी, कल्भर्टको भित्ता र सिलिङमा देखिएका चिराको ग्राउटिङ गर्ने काम समानान्तर रूपमा अगाडि बढाइनेछ।

दायाँतर्फको अर्को डिस्यान्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइनेछ। यो काम आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ। वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ।

आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले बुधबार आयोजनाको स्थलगत अनुगमन गरी भइरहेको मर्मतसम्भारबारे जानकारी लिएको छ। कम्पनीका सिइओ मोहनप्रसाद गौतमले मर्मतसम्भारका हरसम्भव उपायहरू अवलम्बन गरी तय गरेको तालिकाबमोजिम विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको बताएका छन्।

टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी १० पुसभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक आवरमा चलाउने गरी मर्मतसम्भार सम्पन्न गर्ने गरी समयतालिका तय गरिएको छ। विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ।

294 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ