पात्रो

रेडियो

समाचार खोजी

भाडादर पेस गर्न वायुसेवा कम्पनीलाई पर्यटनमन्त्रीकोे निर्देशन

साझा अर्थ संवाददाता ६ मंसिर २०८१, बिहिवार

अन्तराष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिहरूलाई बोलाएर उनले महँगो भाडा असुलेको गुनासो आइरहेको भन्दै पुनर्विचार गर्न निर्देशन दिएका हुन् । 

यसअघि हवाई सेवा कम्पनीहरूले नियामक निकायसँगको छलफलमा भाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति गरे पनि कार्यान्वयन नगरेकोमा उनले आक्रोश व्यक्त गरे । हवाई भाडावृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबिचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरेको स्मरण गराउँदै राज्य र नागरिकप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गरे । 

मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत अचाक्ली हवाई भाडा लिएकोप्रति सचेत गराए । नागरिकले हवाईभाडा वृद्धिबारे गरेको गुनासोले चिन्तित तुल्याएको उनले बताए । २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए । उनले एयरलाइन्सले हवाई भाडावृद्धिबारे पुनर्विचार नगरे सरकारले कडा कदम चाल्ने चेतावनी दिए । 

मन्त्रालयका सचिव डा. गणेश पाण्डेयले सम्झौता कार्यान्वयनमा एयरलाइन्सहरूले किन अटेर गरेको भन्दै प्रश्न गरे । उनले भने, ‘आफूले गरेको निर्णय आफैँ लागू गर्ने कि नियमन गर्न कठोर बन्नुपर्ने हो । सम्झौता किन लागू नगरेको । तपाईंहरूले यदि निर्णय कार्यान्वयनमा अटेर गर्नुभयो भने सेवा दिन आउने नयाँ हवाई कम्पनीका लागि सूचना आह्वान गर्न सकिन्छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाई भाडा नियन्त्रणसम्बन्धी पाँचबुँदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृत्रिम अभाव देखाउँदै कालोबजारी गरिरहेकाले नियन्त्रण गरेरै छोड्ने अठोट व्यक्त गरे ।

छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए । एयरलाइन्सले चार गुणाभन्दा बढी भाडा लिएको भन्दै आलोचना भएको थियो । 

280 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता