बाढीपहिरोका कारण ठूलो क्षति व्यहोरेको धुलिखेल नगरपालिकाले उक्त नगरपालिकालाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गरेको छ । असोज दोस्रो साताको बाढीपहिराले विभिन्न क्षेत्रमा रु एक अर्ब बराबरको क्षति पु¥याएपछि नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको हो।
नगरप्रमुखसहित जनप्रतिनिधिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग भेट गरी ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेका हुन् । नगरप्रमुख अशोक ब्याञ्जूसहितको टोलीले करिब एक अर्बको बराबरको क्षति भएपछि नगरलाई क्षतिग्रस्त पालिका घोषणा गर्न ध्यानाकर्षण गराउन उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाइएको हो ।
उनका अनुसार ध्यानाकर्षणपत्रमा धुलिखेलको ठकुरीगाउँ, भ्याण्डोल तथा इटोलको फोहोर पानी प्रशोधन केन्द्रको पुनःनिर्माणका लागि ध्यानाकर्षण गराइएको छ ।
नगर प्रमुख ब्याञ्जूले धुलिखेल खानेपानी, काभ्रे एकीकृत खानेपानी, सडक, विद्यालय तथा अन्य संरचनाको क्षतिमासमेत सरकारको सहजीकरणका लागि ध्यानाकर्षण गराइएको जानकारी दिए ।
नगर कार्यालयका अनुसार बाढीपहिराले धुलिखेल नगरको वडा नं १, २, ३, ४, ८, ९, १०, ११ र १२ मा बर्सातका कारण धेरै क्षति भएको छ भने ८ र ११ नं वडामा दुई नागरिकले ज्यानसमेत गुमाएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले भने कात्तिक पहिलो साताको बैठकले सिङ्गो काभ्रेपलाञ्चोकलाई नै सङ्कटग्रस्त घोषणा गर्ने निर्णय गरेको छ । नगर कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार ६४ घर पूर्णरुपमा र पाँच सय ७२ घर आंशिक क्षति भएका छन् ।
धिताल खोलाहुँदै बहने सिँचाइमा ५० लाख बराबरको क्षति पुगेको छ भने साढे आठ किलोमिटर पक्की सडक, ८० किलोमिटर ग्राभेल सडक तथा एक सय १० किमी कच्ची सडक पूर्ण क्षति पुगेको कार्यालयले जनाएको छ । यस्तै पशुधनमा १८ लाख बराबरको पशुधन क्षति भएको, ११ वटा विद्यालयमा पाँच करोड २५ लाख, बराबरको क्षति भएको जनाइएको छ ।
यसैगरी नगरको आफ्नै फाइबर केबुल पाँच हजार मिटर, टिफिन बक्स, क्यामेरालगायतका विभिन्न उपकरणमा क्षति पुगेको छ । यस्तै एक हजार दुई सय रोपनीको मकै, दुई हजार पाँच सय रोपनीको धान, दुई हजार रोपनीमा लगाएको तरकारी र १५ वटा तरकारी टनेलमा क्षति पुगेको जनाइएको छ । नगरले निजी आवासबाहेक ६५ करोड बराबरको क्षति भएको विवरण तयार गरेको छ ।
जिल्ला सदरमुकाम धुलिखेलमा रहेका नेपाली सेनाको काली जङ्ग गण, बाल मन्दिर विद्यालय, खेल मैदान, प्रादेशिक ल्याब, जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, सञ्जीवनी स्कुल, होटल तथा अन्य संरचनामा समेत क्षति पुगेको बताएको छ ।
यसैबीच बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानीको पुनःनिर्माणको लागि धुलिखेल नगरपालिकाले जर्मन सरकारसँग माग गरेको छ । नगरले नेपालका लागि जर्मनी राजदूत शनिबार डा थोमस प्रिन्जसँग भेट गरी उक्त प्रस्ताव गरेको हो । करिब तीन दशकअघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनःनिर्माण गर्न तीन करोड ५१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको नगरले जनाएको छ ।
भेटका क्रममा राजदूत प्रिन्जले खानेपानी पुनःनिर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नगरपालिकाका अनुसार गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ को उपभोक्ता एक महिनादेखि खानेपानीविहीन अवस्थामा रहेका छन् ।
उक्त आयोजनाको पाइपमा बढी क्षति भएको तथा धुलिखेलका अन्य दुई खानेपानीमा दुई करोड चार लाख क्षति भएको जनाइएको छ । बाढीपहिरोबाट नगरको दश वटा वडाका अधिकांश निजी आवास, सडक, खेतीयोग्य जमिन, पशुपंक्षी तथा केही वडामा मानीवय क्षति पुगेको थियो । उक्त घटनामा दुई जनाले ज्यान गुमाएका थिए एक महिला अझै बेपत्ता अवस्थामा छन ।
साझा अर्थ संवाददाता