काठमाडौँ, १३ साउन: नेपालको लक्जरी पर्यटन क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हासिल गरेको छ। शेर्पा हस्पिटालिटी ग्रुपद्वारा सञ्चालित दुई प्रख्यात लक्जरी होटेलहरूले विश्वव्यापी रूपमा प्रतिष्ठित दुई वटा ठूला ग्लोबल रेकग्निशन प्राप्त गरेका छन्, जसले विश्व पर्यटन मानचित्रमा नेपालको नाम थप उचाइमा पुर्याएको छ।
यसैक्रममा, 'मनाङ लज' (Manang Lodge) प्रतिष्ठित टाइम म्यागजिनको “वर्ल्ड्स ग्रेटेस्ट प्लेसेज टु स्टे २०२६” (World's Greatest Places to Stay 2026) को सूचीमा समावेश भएको छ। यस वर्षको यो प्रतिष्ठित सूचीमा पर्न सफल यो नेपालको एकमात्र होटेल हो। मनाङको मर्स्याङ्दी नदी किनारमा करिब ३,५०० मिटरको उचाइमा अवस्थित १४ कोठे यो लक्जरी लजले अन्नपूर्ण, गंगापूर्ण र तिलिचो हिमालको मनमोहक दृश्यावलोकनका साथै तातो कोठा र “लक्जरी बेस क्याम्प” को अनौठो अवधारणासहित उच्च कोटीको आतिथ्यता प्रदान गर्दै आएको छ। प्रसिद्ध अन्नपूर्ण सर्किट पदमार्गमा पर्ने यस लजले ब्रागा गुम्बा, हिमनदी तालहरू र हिउँ चितुवाको बासस्थानसम्म सजिलो पहुँच प्रदान गर्ने भएकाले स्वदेशी तथा विदेशी पर्यटकहरूमाझ यो अत्यधिक लोकप्रिय बन्दै गएको छ।
यसैगरी, अर्को एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै 'शिन्ता मानी मुस्ताङ' (Shinta Mani Mustang) रोब रिपोर्ट (Robb Report) को “५० ग्रेटेस्ट लक्जरी होटेल अन अर्थ २०२६” (50 Greatest Luxury Hotels on Earth 2026) को सूचीमा विश्वकै नम्बर १ लक्जरी होटेल घोषित भएको छ। २४ जना अन्तर्राष्ट्रिय लक्जरी यात्रा विशेषज्ञहरूको कडा मूल्याङ्कनका आधारमा यो रिसोर्ट शीर्ष स्थान हासिल गर्न सफल भएको हो। यसअघि सन् २०२४ र २०२५ मा पनि विभिन्न ग्लोबल अवार्ड जितिसकेको यस रिसोर्टको निरन्तरको सफलताले नेपालको आतिथ्य सत्कारको गुणस्तरलाई विश्वसामु फेरि एकपटक प्रष्टि्याएको छ।
पर्यटन क्षेत्रका जानकार तथा विज्ञहरूका अनुसार नेपालका लक्जरी सम्पदाहरूले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय मान्यताले मुलुकलाई परम्परागत साहसिक पर्यटनको गन्तव्य मात्र नभई एक प्रिमियम लक्जरी गन्तव्यको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। प्राकृतिक सौन्दर्य, अद्वितीय हिमाली संस्कृति र उच्च स्तरको हस्पिटालिटीले अब विश्वभरका उच्च वर्गका (High-end) अन्तर्राष्ट्रिय पर्यटकहरूलाई नेपालतर्फ थप आकर्षित गर्ने विश्वास लिइएको छ।