काठमाडौं, साउन २ : बागमती प्रदेश सरकारका मन्त्रीहरूको कार्यविभाजन टुंगो लागेको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा मन्त्रीहरूको जिम्मेवारी निर्धारण गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ कार्यविभाजन कार्यान्वयनमा आएको छ।
कार्यविभाजनअनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी सम्हाल्नेछन्। मधुधन पौडेललाई कृषि, पशुपन्छी तथा वातावरण मन्त्रालय, शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय तथा कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यसैगरी दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना, कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ तथा विन्दु श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
यस्तै, किरण थापामगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र विष्णु रायमाझी पौडेललाई विनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
यसअघि गत वैशाखमा बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउने उद्देश्यसहित मन्त्रालयको संख्या घटाउने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनमा आएपछि प्रदेशमा रहेका १४ मन्त्रालय घटाएर आठमा सीमित गरिएको छ।