काठमाडौं, साउन २ : नेपाल–भारत पारवहन व्यवस्थामा नयाँ आयाम थप्दै कोलकाताबाट विराटनगरसम्म रेलमार्फत कार्गो ढुवानी सेवा औपचारिक रूपमा सुरु भएको छ। तेस्रो मुलुकबाट आयात गरिएका मालसामान भारतीय भूमि हुँदै रेलमार्फत सिधै विराटनगर भन्सारसम्म पुर्याउने व्यवस्था कार्यान्वयनमा आएसँगै नेपालको पूर्वी क्षेत्रमा व्यापारिक ढुवानी थप सहज हुने अपेक्षा गरिएको छ।
नेपाल–भारत पारवहन सम्झौताअनुसार भारतीय सडक, रेल र जलमार्ग प्रयोग गरी तेस्रो मुलुकबाट आयात–निर्यात गर्न सकिने व्यवस्था रहेकामा भारत सरकारले इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणालीसम्बन्धी नियम संशोधन गरेपछि कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट विराटनगरसम्म रेल कार्गो सञ्चालनको बाटो खुलेको हो।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार कोलकाता बन्दरगाहबाट पहिलो रेल कार्गो सेवा बिहीबार औपचारिक रूपमा शुभारम्भ गरिएको हो। नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाएर सेवाको उद्घाटन गरेका थिए।
पहिलो ढुवानीमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका ४० फिटका ४० वटा कन्टेनर रहेका छन्। सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली जडान गरिएको छ। जोगबनीस्थित एकीकृत भन्सार यार्ड हुँदै विराटनगर पुग्ने यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि एकै पटकमा ४५ वटासम्म ४० फिटका कन्टेनर रेलमार्फत ढुवानी गर्न सकिने जनाइएको छ।
सडक मार्गको तुलनामा रेल ढुवानी सुरक्षित, भरपर्दो र कम लागतको हुने बताइएको छ। कोलकाताबाट छुटेको कार्गो करिब २४ घन्टाभित्र विराटनगर पुग्ने भएकाले आयात प्रक्रिया छिटो हुने, बन्दरगाहमा लाग्ने विलम्ब शुल्क तथा अतिरिक्त ढुवानी खर्च घट्ने र समग्र व्यापार लागत कम हुने अपेक्षा गरिएको छ। यसबाट नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुनुका साथै पूर्वी नाकाबाट हुने अन्तर्राष्ट्रिय व्यापारलाई थप गति मिल्ने विश्वास गरिएको छ।