काठमाडौं, ३२ साउन : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालले अबको विकास यात्रामा ‘डिजिटलाइजेसन’, ‘डेमोग्राफी’ र ‘डायस्पोरा’लाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभएको छ।
बुधबार काठमाडौंमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र नेपालबीचको ६० वर्ष लामो साझेदारीका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपालले गरिबी न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्नुभयो।
अर्थमन्त्री वाग्लेले सन् १९९५ मा ५५ प्रतिशत रहेको गरिबीको दर हाल एक प्रतिशतभन्दा तल झरेको भन्दै यसले नेपालको विकास यात्रामा महत्वपूर्ण सफलता हासिल भएको संकेत गर्ने बताउनुभयो।
उहाँले विकासका चुनौतीहरू समयसँगै परिवर्तन भइरहेकाले अबका दिनमा ‘डिजिटलाइजेसन’, ‘डेमोग्राफी’ र ‘डायस्पोरा’लाई केन्द्रमा राखेर नीति निर्माण तथा कार्यान्वयन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँका अनुसार यी तीन पक्ष अर्थात् ‘थ्री डी’ले वर्तमान नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिदृश्यलाई दिशा दिइरहेको छ। त्यसैले दिगो विकास, रोजगारी सिर्जना, लगानी विस्तार तथा समावेशी आर्थिक समृद्धिका लागि यी क्षेत्रलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।