काठमाडौँ, ३० असार: अघिल्लो दिन तीव्र ओरालो लागेको सेयर बजारमा मंगलबार भने केही सम्हालिने प्रयास गर्दै झिनो अंकको सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.११ अंकले वृद्धि भई २५७६ विन्दुमा पुगेर बन्द भएको हो। दिउँसो कारोबार सुरु भएलगत्तै तीव्र दबाब झेल्दै २५४७ अंकको न्यून विन्दुसम्म ओर्लिएको बजार अन्तिम समयमा क्रेताहरूको सक्रियताका कारण बढेर बन्द हुन सफल भएको बजार विश्लेषकहरूको भनाइ हो।
बजारको परिसूचकमा सामान्य सुधार मात्र देखिए पनि कारोबार रकमले भने लगानीकर्तामा उत्साह थपेको छ। यस दिन कुल ८ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको धितोपत्र खरिद-बिक्री भएको छ, जुन करिब तीन महिनायताकै सबैभन्दा उच्च कारोबार हो। यसअघि गत वैशाख ३ गते ९ अर्ब २० करोड रुपैयाँको कारोबार भएकोमा त्यसपछिका दिनहरूमा मन्दी छाएको बजारमा मंगलबार पुनः ठूलो परिमाणमा रकम भित्रिनुलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ।
समग्र बजारमा आज कुल १६४ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १०१ कम्पनीको मूल्यमा गिरावट दर्ता भएको छ। उत्पादन तथा प्रशोधन समूहबाहेक व्यापार, बैंकिङ, विकास बैंक, र बिमासहितका अधिकांश समूहगत उपसूचकहरूमा हरियाली छाएको छ। यस दिन खासगरी विभिन्न बैंकका लामो अवधिका ऋणपत्र (डिबेन्चर) हरूको अत्यधिक कारोबार हुनुका साथै उपकार लघुवित्त र भगवती हाइड्रोपावर जस्ता कम्पनीका लगानीकर्ताले बढी नाफा कमाएका छन्।