काठमाडौँ, २५ असार: महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो बैंकमा खाता खोली विगत १० वर्ष वा सोभन्दा बढी अवधिदेखि कुनै पनि कारोबार नभएका निष्कृय खाताहरू बन्द गर्ने प्रक्रिया सुरु गरेको छ। बैंकले एक सार्वजनिक सूचना जारी गर्दै त्यस्ता खातामा रहेका निक्षेप रकमको दाबी गर्न वा खाता पुनः सञ्चालन गर्न ग्राहकहरूलाई आग्रह गरेको हो।
केन्द्रीय बैंकको निर्देशन तथा प्रचलित ऐन बमोजिम लामो समयदेखि कुनै कारोबार नभएका र खातावाला समेत सम्पर्कमा नरहेका खाताको रकम नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ।
बैंकले यो सूचना प्रकाशित भएको मितिले तोकिएको म्यादभित्र सम्बन्धित खातावाला वा उनीहरूको कानुनी हकवालालाई परिचयपत्र र खाताको विवरण सहित आफूले खाता खोलेको नजिकैको शाखा कार्यालयमा सम्पर्क राखी खाता अद्यावधिक गर्न वा रकम भुक्तानी लिन अनुरोध गरेको छ। तोकिएको समयभित्र कोही पनि सम्पर्कमा नआएमा ती खाताहरू बन्द गरी रकम नियमानुसार कोषमा पठाइने बैंकले स्पष्ट पारेको छ। निष्कृय खाताहरूको विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ।