काठमाडाैः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई ईरानसँगको युद्ध नबढाउन कडा चेतावनी दिएका छन्। ट्रम्पले नेतन्याहूसँगको फोन वार्तामा स्पष्ट पारे कि ईरानविरुद्ध ठूलो सैन्य आक्रमण गर्ने हो भने इजरायल विश्वमा एक्लो हुनेछ र कसैले सहयोग गर्ने छैन।
‘एक्सियोस’लाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, “ नेतन्याहू सचेत रहनुपर्छ। ईरानमा ठूलो आक्रमणको तयारी गरे तिमी छिट्टै एक्लो पर्छौ।” ट्रम्पले यस्तो कदमले अमेरिका–ईरानबीच सम्भावित सम्झौतामा समेत बाधा पुग्ने बताए।
यो चेतावनी त्यस्तो बेला आएको छ जब अाइतवार इजरायलले लेबनानमा भीषण आक्रमण गरेपछि ईरानले इजरायलमा मिसाइल प्रहार गरेको थियो। यसले ठूलो युद्धको जोखिम बढाएको थियो। ट्रम्पले दुवै पक्षलाई शान्तिको अपील गर्दै नेतन्याहूलाई सैन्य कारबाही रोक्न दबाब दिए।
इजरायली अधिकारीहरूका अनुसार ट्रम्पको दबाबपछि नेतन्याहू पछि हट्न तयार भएका छन्। अहिले दुवै पक्षले सोमबारदेखि सैन्य कारबाही स्थगित गरेको घोषणा गरेका छन्। यद्यपि, इजरायलले लेबनानमा सीमित आक्रमण जारी राख्न सक्ने विश्लेषकहरू बताउँछन्।
यस घटनाले इरान–इजरायल संघर्षमा अमेरिका र इजरायलबीच मतभेद सतहमा ल्याएको छ। फेब्रुअरी २८ देखि करिब ६ हप्ता लडाइँ चलेको थियो। अप्रिल ८ मा युद्धविराम भए पनि पुन: तनाव सिर्जना भएको थियो। ट्रम्पको चेतावनीपछि तनाव केही कम भएको छ, तर आगामी दिनमा यो विवादले कस्तो मोड लिन्छ भन्ने विश्वको ध्यान केन्द्रित छ।




