पात्रो

रेडियो

समाचार खोजी

पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना रद्द

साझा अर्थ संवाददाता २ जेठ २०८३, शनिवार

काठमाडौंः अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेपछि युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे नयाँ चर्चा सुरु भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकास्थित चार हजारभन्दा बढी सैनिकलाई अस्थायी रूपमा पोल्याण्ड पठाउने तयारी अन्तिम समयमा स्थगित गरेको विभिन्न अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । यो निर्णय विशेषगरी दोस्रो बख्तरबन्द ब्रिगेड लडाकु टोलीसँग सम्बन्धित रहेको बताइएको छ । 

अमेरिकी स्थलसेनाका कार्यवाहक प्रमुख क्रिस्टोफर ला नेभले संसदीय सुनुवाइका क्रममा युरोपियन कमान्डलाई सैनिक सङ्ख्या घटाउने निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार विस्तृत परामर्शपछि उक्त ब्रिगेडलाई युरोपमा तैनाथ नगर्ने निर्णय गरिएको हो । उहाँले केही सैनिक सदस्यहरू विदेश पठाइसकिएको र आवश्यक सैन्य उपकरणसमेत मार्गमा रहेका बेला योजना रोकिएको खुलासा गर्नुभयो ।

रिपोर्टअनुसार सैनिक तैनाथी रद्द गर्ने आदेश अमेरिकी रक्षामन्त्री पिट हेगसेथको कार्यालयबाट आएको हो । यद्यपि पेन्टागनले यस विषयमा हालसम्म कुनै औपचारिक सार्वजनिक घोषणा गरेको छैन । अमेरिकी सिनेटको सशस्त्र सेवा समितिकी सदस्य जिन शाहिनले संसदलाई यसबारे कुनै पूर्वजानकारी नदिइएको बताउँदै सरकारको निर्णय प्रक्रियामाथि प्रश्न उठाएकी छन् । उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरूलाई यसबारे जानकारी नदिइएको स्पष्ट पार्नुभयो ।

यो निर्णय अमेरिकाले युरोपमा आफ्नो सैन्य रणनीति पुनरावलोकन गरिरहेको संकेतका रूपमा हेरिएको छ । केही समयअघि मात्रै पेन्टागनले जर्मनीबाट करिब पाँच हजार अमेरिकी सैनिक आगामी ६ देखि १२ महिनाभित्र फिर्ता बोलाइने घोषणा गरेको थियो । युक्रेन युद्धपछि पूर्वी युरोपमा सुरक्षा चिन्ता बढिरहेका बेला अमेरिकाले पोल्याण्डमा थप सैनिक नपठाउने निर्णय गर्नु रणनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

पोल्याण्ड हाल उत्तर एटलान्टिक सैन्य गठबन्धनअन्तर्गत पूर्वी युरोपको महत्वपूर्ण सुरक्षा साझेदारका रूपमा हेरिन्छ, जहाँ अमेरिकी सैनिक उपस्थिति रूससँगको तनावका कारण विशेष महत्व राख्दै आएको छ । यस्तो अवस्थामा सैनिक तैनाथी रोक्ने निर्णयले अमेरिकाको आगामी सुरक्षा नीति र युरोपमा सैन्य भूमिकाबारे थप चासो बढाएको छ ।

50 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ