काठमाडौँ, ३१ वैशाखः ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले प्रसारण लाइन अवरुद्ध हुँदा कर्णाली प्रदेशमा उत्पन्न विद्युत् सङ्कटमा गहिरो चासो व्यक्त गर्नुभएको छ। बाँकेको चिसापानी क्षेत्रमा हावाहुरीले रूख ढलेर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनका दुईवटा टावर पूर्ण रुपमा क्षतिग्रस्त भएका हुन्।
मन्त्री श्रेष्ठले बुधबार क्षतिग्रस्त टावरको मर्मत र घटनाको छानबिन तीव्र पार्न निर्देशन दिँदै मर्मत कार्य युद्धस्तरमा अघि बढाउन भन्नुभएको छ। नेपाल विद्युत् प्राधिकरणले ग्रिड अपरेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। प्रारम्भिक अनुमानअनुसार टावरको जगै पुनःनिर्माण गर्नुपर्ने भएकाले काम सम्पन्न हुन करिब तीन साता लाग्ने देखिएको छ।
कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधानको महत्त्वपूर्ण पूर्वाधार मानिएको यो आयोजनाको निर्माण आरएस इन्फ्रा कम्पनीले गरेको थियो। मन्त्री श्रेष्ठले मर्मतलाई प्राथमिकता दिँदै उक्त अवरोधले प्रदेशको ऊर्जा सुरक्षामा थप चुनौती सिर्जना गरेको बताउनुभयो। उहाँको सचिवालयले सम्बन्धित निकायसँग निरन्तर समन्वय गरी सेवा यथाशीघ्र सञ्चालनका लागि पहल जारी रहेको जनाएको छ।