पात्रो

रेडियो

समाचार खोजी

संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था संशोधन गर्दै रास्वपा

साझा अर्थ संवाददाता २९ फागुन २०८२, शुक्रवार

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयनसम्बन्धी विधानको व्यवस्थामा संशोधन गर्ने तयारी गरेको छ। हालको विधानअनुसार संसदीय दलको नेता चयन गर्दा पार्टीका सम्पूर्ण साधारण सदस्यले मतदान गर्न पाउने व्यवस्था रहेको छ।

रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था गरिएको छ। उक्त धाराको उपधारा ८ (ख) मा ‘पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने’ उल्लेख गरिएको छ। यही व्यवस्था व्यवहारिक नभएको निष्कर्षसहित संशोधन गर्न लागिएको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।

रावलले भनिन्, “संसदीय दलको नेता चयनको प्रक्रियालाई समयानुकूल बनाउन आवश्यक संशोधन गरिनेछ।” पार्टी सदस्य सबैबाट नेता चयन गर्ने व्यवस्था व्यवहारिक नभएको भन्दै नयाँ विधि तय गर्ने तयारी गरिएको उनले बताइन्।

रास्वपाको विधानमा प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूमध्ये ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार संसदीय दलको नेता हुने व्यवस्था उल्लेख गरिएको छ।

पार्टीले संसदीय दलको नेता सर्वसम्मत रूपमा वरिष्ठ नेता बालेन्द्र शाहलाई बनाउने तयारी गरेको बताइएको छ। पार्टी सरकारको नेतृत्वमा गएमा संसदीय दलको नेताले नै सरकारको नेतृत्व गर्ने विधानअनुसार शाहलाई उक्त जिम्मेवारी दिने तयारी गरिएको हो।

रास्वपा र काठमाडौँका तत्कालीन मेयर पक्षबीच एकता हुँदा शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो। पुस १३ गते भएको सहमतिपत्रमा ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने तथा आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने’ उल्लेख गरिएको थियो।

रास्वपाका अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदहरूले निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइनेछ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको नतिजा आइसकेको छ। प्राप्त मतको आधारमा रास्वपाले प्रतिनिधिसभामा १८२ सिट प्राप्त गरेको छ, जसमा समानुपातिकतर्फ ५७ सिट परेको छ।

रास्वपाले समानुपातिकतर्फ प्राप्त ५७ सिटमध्ये ४८ जना महिला सांसद चयन गर्नुपर्ने हुन्छ। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित उम्मेदवारहरूको सूची पठाउन दलहरूलाई पत्र पठाइसकेको र पार्टीभित्र छलफल गरेर सूची पठाइने सहप्रवक्ता रावलले जानकारी दिइन्।

80 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ