पात्रो

रेडियो

समाचार खोजी

एडीबीको दक्षिण एसिया विभागको महानिर्देशकमा सोना श्रेष्ठ नियुक्त

नेपालसहित ६ देशमा एडीबीका रणनीति तथा विकास कार्यक्रमको नेतृत्व गर्ने

साझा अर्थ संवाददाता २९ माघ २०८२, बिहिवार

काठमाडौं, २९ माघ।
एशियाली विकास बैंक (एडीबी) ले आफ्नो दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली अर्थशास्त्री सोना श्रेष्ठलाई नियुक्त गरेको छ। यस नियुक्तिसँगै उनले नेपाल, बंगलादेश, भुटान, भारत, माल्दिभ्स र श्रीलंकामा एडीबीका रणनीति, सञ्चालन तथा विकास कार्यक्रमको नेतृत्व गर्नेछिन्।

श्रेष्ठ यसअघि एडीबीकै दक्षिण एसिया विभागको उपमहानिर्देशकका रूपमा कार्यरत थिइन्। एडीबीको उच्च नेतृत्व तहमा पुग्ने थोरै नेपालीमध्ये उनी एक हुन्। उनले उपमहानिर्देशकको जिम्मेवारी ३ अप्रिल २०२५ देखि सम्हाल्दै आएकी थिइन्।

एडीबीमा २३ वर्षको अनुभवसहित अन्तर्राष्ट्रिय विकास, नीतिगत विश्लेषण, परियोजना सञ्चालन तथा मूल्यांकन क्षेत्रमा श्रेष्ठको कुल २७ वर्षको कार्य अनुभव रहेको छ। यस अवधिमा उनले एडीबीको स्वतन्त्र मूल्यांकन विभागको उपमहानिर्देशक, सहायक सचिव लगायतका विभिन्न वरिष्ठ पदमा रहेर काम गरेकी छन्।

त्यसअघि उनले दक्षिण–पूर्व एसियाली क्षेत्रीय विभागअन्तर्गत सार्वजनिक व्यवस्थापन, वित्तीय क्षेत्र तथा व्यापारसम्बन्धी निर्देशक, इन्डोनेसियाका लागि उपदेशीय निर्देशक तथा फिलिपिन्सका लागि प्रिन्सिपल कन्ट्री इकोनोमिस्टका रूपमा समेत जिम्मेवारी सम्हालेकी थिइन्।

नियुक्तिपछि प्रतिक्रिया दिँदै श्रेष्ठले भनिन्, “दक्षिण एसिया विभागको महानिर्देशकको जिम्मेवारी पाउनु सम्मानको विषय हो। समावेशी र दिगो विकासलाई अघि बढाउन यस क्षेत्रका विकासशील सदस्य राष्ट्रहरूसँग सहकार्य गर्दै एडीबीको भूमिका अझ सुदृढ बनाउने लक्ष्य राखेकी छु।”

श्रेष्ठले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) तथा स्मिथ कलेजबाट अर्थशास्त्रमै स्नातक (बीए) अध्ययन पूरा गरेकी छन्।

सन् १९६६ मा स्थापना भएको एशियाली विकास बैंक एसिया तथा प्रशान्त क्षेत्रमा समावेशी, उत्थानशील र दिगो आर्थिक वृद्धिलाई समर्थन गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो। हाल एडीबीमा ६९ सदस्य राष्ट्र छन्, जसमध्ये ५० एसियाली राष्ट्र हुन्।

114 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ