पात्रो

रेडियो

समाचार खोजी

४४औँ बी.पी. स्मृति दिवसको अवसरमा दोलखामा ‘ग्रीन रन’ हुने

साझा अर्थ संवाददाता ४ साउन २०८३, सोमवार

दोलखा: ४४औँ बी.पी. स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ दोलखाले नन्दप्रसाद जानुका फाउन्डेसनसँगको सहकार्यमा ‘ग्रीन रन’ (Green Run) प्रतियोगिता आयोजना गर्ने भएको छ। स्वस्थ जीवनशैली, स्वच्छ वातावरण र हरित सोचको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता साउन ६ गते चरिकोट, दोलखामा सञ्चालन हुनेछ।

ग्रीन रनमा दुई विधा समावेश गरिएको छ। पहिलो, अन्तरविद्यालय स्तरीय दौड, जसमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्। दोस्रो, खुला प्रतियोगिता, जसमा सबै उमेर समूहका इच्छुक व्यक्तिहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ।

अन्तरविद्यालयस्तरीय प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु. ५ हजार, रु. ३ हजार र रु. २ हजार नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। खुला प्रतियोगितामा दौड पूरा गर्ने सबै सहभागीलाई विशेष सम्मान गरिने व्यवस्था गरिएको छ।

करिब ३ किलोमिटर लामो दौड सातदोबाटो–धेवापानी–सिमपानी–डुडिखेल–बजार क्षेत्र हुँदै पुनः सातदोबाटो पुगेर सम्पन्न हुनेछ।

सहभागीहरूले बिहान साँढे ७ बजेभित्र नाम लेखाई खेलाडी नम्बर (स्टिकर) लिनुपर्नेछ भने दौड बिहान ८ बजे सुरु हुनेछ। प्रतियोगिता सम्पन्न भएपछि पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ।प्रतियोगिताको मूल नारा “स्वस्थ शरीर, स्वच्छ वातावरण; हरियो सोच, उज्ज्वल भविष्य” रहेको छ।

आयोजकले वातावरण संरक्षण, स्वस्थ जीवनशैली र सामाजिक सचेतनाको सन्देश प्रवाह गर्ने यस कार्यक्रममा विद्यार्थी, युवा तथा सर्वसाधारणलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरेको छ।

105 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु