पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रिय परिचय व्यवस्थापन प्रणाली प्रयोगका लागि पञ्जीकरण विभाग र सामाजिक सुरक्षा कोषबीच समझदारी

साझा अर्थ संवाददाता २४ पुष २०८२, बिहिवार

२०८२ पुस २४, काठमाडौं | राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र सामाजिक सुरक्षा कोषबीच राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीका विद्युतीय सेवा प्रयोगसम्बन्धी समझदारी भएको छ। बुधबार सामाजिक सुरक्षा कोषको कार्यालयमा आयोजित कार्यक्रममा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार अब सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई सामाजिक सुरक्षा नम्बर जारी गर्ने, विवरण अद्यावधिक गर्ने तथा सेवा प्रवाहअघि लाभग्राहीको पहिचान प्रमाणीकरण गर्दा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमार्फत उपलब्ध विद्युतीय सेवा प्रयोग गर्न सक्नेछ। यसले सेवा प्रवाहलाई थप प्रभावकारी, छरितो र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

सम्झौतामा राष्ट्रिय परिचय नम्बर (एनआइएन) का आधारमा नागरिकको नाम, जन्ममिति, ठेगानालगायत जनसाङ्ख्यिक विवरणको प्रमाणीकरण, आवश्यक तथ्याङ्क उपलब्ध गराउने तथा जैविक विवरण प्रमाणीकरण गर्ने सेवा समावेश गरिएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार जैविक विवरणलाई प्रणालीमा रहेका तथ्याङ्कसँग मिलान गरी नागरिकको पहिचान यकिन गरिने व्यवस्था गरिएको छ।

यस्तै, विदेशमा रहेका नेपाली नागरिकका लागि राष्ट्रिय परिचयपत्र आवेदन तथा विवरण सङ्कलन प्रक्रियामा सामाजिक सुरक्षा कोषलाई समेत संलग्न गराई कोषमा सूचीकरण गर्न समन्वय गरिने उल्लेख छ। तथ्याङ्क सुरक्षा, प्रणाली पहुँच, प्रमाणीकरण तथा प्राविधिक सहयोगसम्बन्धी प्रावधानसमेत समेटिएको यो समझदारी हस्ताक्षर भएको मितिदेखि लागू हुने र आपसी सहमतिमा परिमार्जन गर्न सकिने सामाजिक सुरक्षा कोषले जनाएको छ।

88 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ